नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
इलाम –‘सम्बन्ध जोडे जस्तो सजिलो तोड्न त कहाँ हुन्छ र ?’ २३ वर्षीय राधिका (नाम परिवर्तन) भन्नुहुन्छ, ‘छुटेका सम्बन्धले सोच्दै नसोचेको बाटोतिर धकेल्दो रहेछ ।’
राधिका सम्बन्ध जोगाउन, परिवारको सुन्दर भविष्य बनाउन र बाँकी जीवन सुखैसुखमा बिताउन भन्दै परदेश जानुभयो । तर फर्कंदा न परिवार रह्यो न त साँचेका सपना । परदेशले भनौं या जिन्दगीको खेल, परदेशमा बसेर भविष्यका लागि पसिना बगाउँदा बगाउँदै एक्लो हुनुभयो ।
इलामको माइनगरपालिका–१ की राधिकाले मनले खाएको मान्छेसँग १६ वर्षकै उमेरमा बिहे गर्नुभयो । २०७० साल पुसमा आफूभन्दा सात वर्ष जेठा २३ वर्षका पुरुषसँग भागी विवाह भयो ।
साँच्चै भन्दा त्योबेला उहाँलाई बिहेको महत्व पनि राम्रो थाहा थिएन । न भविष्यको चिन्ता, न वर्तमानको । माया थियो । सँगै जीवनका उकाली ओराली गर्ने बाचा र अठोट थियो ।
१७ वर्षमा छोरो जन्मियो । बच्चा भएपछि घरबार चलाउन गाह्रो भयो । छोरो १५ महिनाको हुँदा श्रीमान् रोजगारीका लागि कतार उड्नुभयो । श्रीमानको परदेश बसाई राम्रो भएन । कमाइ नभएपछि १५ महिना नबित्दै नेपाल नै फर्कनुभयो ।
श्रीमान रित्तो हात घर फर्किएपछि राधिकालाई सासुससुराले भने – ‘छोरोले कमाउन सकेन, अब तिमी नै जाउ बुहारी ।’
परिवारका मानिसले नै कमाउन जाउ भनेपछि नाई कसरी भन्नु । काखे सन्तान छाडेर परदेश जाने मन त थिएन राधिकालाई । तर परिवारको खुसी र सुखका लागि नाई भन्ने आँट गर्न सक्नुभएन । २०७२ सालमा १९ वर्षकै उमेरमा काखे सन्तान छाडेर उहाँ यूएई जानुभयो । तर नेपालमा भनेअनुसारको काम र कमाइ भएन । दुई महिनामै नेपाल फर्किनु पर्यो ।
कमाउनु त जसरी पनि थियो । एउटा देशमा असफल भए पनि अर्को देशमा कमाउने आशा बोकेर उहाँ फेरि ओमान जानुभयो । ओमानमा भने काम मिल्यो । परदेशमा बल्ल काम र कमाइ मिल्दै गयो । तर घरमा श्रीमानसँगको सम्बन्ध भने बिग्रंदै गयो । ओमान पुगेको १५ महिनापछि श्रीमानसँग कुराकानी बन्द भयो ।
‘किन मसँग टाढा भएको होला भन्ने लागिरहन्थ्यो, मनमा अनेक प्रश्नहरु थिए, पछि आफन्तबाट थाहा पाएँ, उहाँको त अरुसँगै सम्बन्ध रहेछ, कतिले त बिहे नै गरेको हो, तर बाहिर भने भनेका छैनन् भन्ने कुरा पनि सुनाए’ राधिकाले त्यो नमिठो क्षण मन अमिलो बनाउँदै सुनाउनुभयो ।
यो खबर सुन्दा राधिकालाई लाग्यो परदेश नआएको भए धन नभए पनि आफ्नो माया साथै हुन्थ्यो । आफ्नो परिवार हुन्थ्यो । पछुतोले मन भरियो । जे नहुनु पर्ने त्यो भइसकेको थियो । बाँकी त पछुतो मात्रै थियो ।
ओमानको बसाई सकाएर नेपाल फर्कनुभयो । घर आउँदा न कमाइ थियो न त घर नै । न त जीवन साथी नै ।
‘अनौपचारिक रुपमा विवाह गरेका श्रीमानलाई माफी दिएकै हुँ, विगत जे भयो भयो अब राम्रो सम्बन्ध बनाऊँ भन्ने मेरो प्रस्ताव स्वीकार गरिएन, अन्ततः सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेँ’ उहाँले भन्नुभयो । बिग्रिएको सम्बन्धलाई फेरि गाँस्नुभन्दा उहाँले छुट्टिएरै खुसी जीवन जिउने निधो गर्नुभयो । भावनात्मक रुपमा टुटिसकेको सम्बन्ध २०७६ मंसिरमा कानुनी रुपमा नै तोड्नुभयो ।
दुई वर्षको बच्चा छाडेर परदेश जानु, काम र भाषा नजान्द १२ घण्टासम्म एउदै कोठामा राखेर साहुले दुःख दिंदाको पीडा सहनु । दुःख त कति हुन कति । तर फर्कंदा हात लाग्यो शून्य ।
भविष्य बनाउँला भनेर विदेशिएको योजना भताभुङ्ग भयो । ‘आफ्नै छोरोलाई समेत छोरा भन्न पाइन, सम्झिए कत्ति हो कत्ति मन भक्कानिएर आउँछ, के गर्नु ? बहुलाउनु भन्दा बाँच्नै निको रैछ भन्छु अनि आफूलाई सम्हाल्छु,’ उहाँ भन्नुहुन्छ ।
अहिल्यै उहाँको केही योजना छैन । दुःखै गर्न जन्मेको दुःखै गर्छु भन्नुहुन्छ, राधिका । राधिकालाई विवाह भन्ने शब्दले पनि हिजोआज बिझाउँछ । पछुतोले भतभती पोल्छ ।
भन्नुहुन्छ – ‘नजानेरै बिहे गरियो, तर विवाह गर्दाका जिम्मेवारी के – के छन् ? यो बुझेर मात्र विवाह गर्नु, बरु नत्र नगरेकै राम्रो ।’
इलामको माईनगरपालिका–६ की सुधा (नाम परिवर्तन) को पीडा पनि उस्तै छ । १८ वर्षकै उमेरमा विवाह अनि १९ वर्षमै आमा बन्नुभयो । श्रीमानकै करकापमा परेर साढे तीन वर्षको बच्चा छाडेर परदेशिनु पर्यो । जिन्दगीले दिनुसम्मको दुःख दियो ।
भेट भएकै दिन २०५६ मा विवाह भयो । एक अर्कामा राम्रो चिनजान हुनै पाएन । विवाहपछि सम्बन्ध राम्रो भएन । घर झगडा भइराख्थ्यो । जीवन कहिलेसम्म त्यसैगरी चल्छ उहाँले सोच्न सक्नुभएको थिएन ।
विवाद, असन्तुष्टि र कलहकै बीचमा उहाँलाई श्रीमानले विदेश जान करकाप गरे । दिनरात रोएर बस्नुभन्दा जे होला भनेर २०६१ सालमा कुवेत जानुभयो । साढे तीनवर्षको छोरालाई माइतीमा छाड्नुभयो । सानो बच्चा चटक्कै छाडेर परदेशीनु पर्दा मन गह्रौं भएको थियो । रोएको थियो । तर खै किन हो कुवेत पुगेपछि उहाँलाई मनका सबै भारी बिसाएझैं हलौं भयो ।
उहाँ भन्नुहुन्छ, ‘मलाई, त्यही कुवेतले पागल बनेर सडकमा हिँड्नबाट बचायो, त्यसैले होला मलाई मेरो घरभन्दा कुवेतको बढी माया लाग्छ ।’
कुवेत पुगेपछि कमाइ त भयो । तर सम्बन्ध भने फाटिंदै गयो ।
‘श्रीमानको अर्कैसँग सम्बन्ध छ भन्ने थाहा भयो, त्यसपछि लाग्यो अब श्रीमानको बारेमा हैन, मैले मेरो छोराको लागि सोच्नुपर्छ,’ उहाँ भन्नुहुन्छ,‘त्यसपछि मैले पैसा पठाउनै छाडेँ ।’
घरमा श्रीमानले अर्को बिहे गरे । सुधाले कुवेतमै १० वर्ष यसै बिताउनुभयो । फर्किएपछि उहाँलाई लाग्यो नामको मात्र सम्बन्ध के काम । बरु कानुनी रुपमा पनि छुट्टिएकै जाति । सम्बन्ध बिच्छेदका लागि प्रक्रिया अघि बढाउनुभयो । तर मुद्दा लड्दालड्दै परदेशको कमाइ मात्रै सकियो ।
मेलमिलापको प्रयास नभएका होइनन् । सात पटकसम्म त प्रहरी चौकी नै धाउनु भयो । सहारा नै नपाएपछि उहाँका लागि सम्बन्ध विच्छेद नै अन्तिम विकल्प बन्यो । अबको बाँकी जीवन छोरोकै लागि दुःख गर्ने लक्ष्य छ उहाँको । ११ कक्षामा पढ्दै गरेका छोरोको सुन्दर भविष्य हेर्ने मन छ उहाँलाई ।
एक्लो हुँदाका समयमा समाजका अनेकन आलोचना सुन्दा मन खिन्न भए पनि आफ्नै नाममा छोरोको नागरिकता निकाल्न पाउँदा भने खुसी लागेको छ उहाँलाई ।
अहिले ३८ वर्ष लाग्नुभयो सुधा । जीवनका ३८ औं वसन्तमा भोगाईलाई जोड्दै उहाँ भन्नुहुन्छ, ‘जोडिएर छुट्टिनु भन्दा सम्बन्धमा नजोडिएकै जाती, जीवनका हरेक पाइला सोचेर मात्र चालौँ ।’
केही कारणमा बाहेक सम्बन्ध विच्छेद गर्दा महिलाले श्रीमानको अंशबाट अंशियार भएको एक भाग पाउने अधिकार छ । तर पछिल्लो समय आफ्नो अधिकार नलिइ सम्बन्ध विच्छेद गर्ने महिला बढी रहेको पाइएको छ ।
इलाम जिल्ला अदालतको तथ्याँङ्क अनुसार, आर्थिक वर्ष २०७४/०७५ देखि अहिलेसम्म छ सय ६० सम्बन्ध विच्छेदका मुद्दा छन् । जसमा २०७४/०७५ मा एक सय ६३ महिला र एक पुरुष गरी एक सय ६४, २०७५/०७६ मा दुई सय महिला र ६२ पुरुष गरी दुई सय ६२, २०७६/०७७ मा महिला एक सय ४९ र पुरुष ६१ गरी जम्मा दुई सय १० र चालु आर्थिक वर्ष २०७७/०७८ मा महिला १८ र पुरुष ६ गरी २४ थान मुद्दा परेको छ ।
चालु वर्षको अहिलेसम्ममा २४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । जसमध्ये १८ वटा मुुद्दामा अंशको माग दावी नै नरहेको जिल्ला अदालत इलामका शाखा अधिकृत गंगा कँुवरले जानकारी दिनु भयो । उहाँकाअनुसार ६ वटा मुद्दामा मात्रै अंशको माग दावी गरिएको छ ।
चार आर्थिक वर्षमा ६ सय ६० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जसमा पाँच सय तीन जना महिलाले दर्ता गराएका हुन् भने एक सय ३० वटा पुरुषले दर्ता गराएका हुन् । अंश सहितको मुद्दा दर्ता गर्दा बढी समय लाग्ने भएकाले धेरैजसोले अंशको माग दावी नै नगर्ने गरेका अधिकृत कुँवरको भनाई छ ।
सम्बन्ध विच्छेद सम्बन्धी मुद्दामा अदालतले एक वर्षसम्म मेलमिलापकै प्रयास गराउँछ । त्यति समयमा पनि मेलमिलाप नभए वा सम्बन्ध तोड्नको लागि श्रीमान श्रीमती तयार भए बढीमा १८ महिनासम्ममा सम्बन्ध विच्छेदको प्रक्रिया टुङ्गिने कानुनी प्रावधान छ ।
महिलाले परपुरुषसँग सम्पर्क गरेको पुष्टि हुँदा, अर्को व्यक्तिसँग बिहेवारी गरे या नियमित तीन वर्ष घर छाडेर हिँडेको अवस्थामा मात्रै अंश नपाउने व्यवस्था छ । सम्बन्ध विच्छेदको लागि बाध्य भएका महिलाहरुसमेत आफूलाई कानुनले दिएको अधिकार पनि छाड्न थालेका छन् ।
घरेलु हिंसाका कारण छुटकारा कसरी पाउने ? भन्ने मात्र सोच्ने, मुद्दालाई छोटो अवधिमा टुङ्गो लगाउने सोच र कतिको चाहिँ दावी गर्ने व्यक्तिसँग सम्पत्ति नै नहुने भएकाले पनि अंश दावी नै नगर्ने गरेको पाइएको अधिवक्ता याम लिम्बू बताउनुहुन्छ ।
वैदेशिक रोजगारीमा जाने चलन ह्वात्तै बढेपछि मुद्दा दर्तामासमेत वृद्धि भएको देखिन्छ । वैदेशिक रोजगारी, घरेलु हिंसा, सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पनि सम्बन्ध विच्छेद बढ्न थालेको उहाँ बताउनुहुन्छ ।
सम्बन्ध विच्छेदका कारण ठूला हुँदैनन् ।
साना कमजोरीलाई पनि क्षमा दिन नसक्नु, आ–आफ्नो जिम्मेवारीलाई बोध नगर्नु, एक अर्कामा सम्झौता गर्न र विश्वास गर्न नसक्नुले यस्ता निर्णयमा पुग्न सहयोग गरेको मनोपरामर्शदाता कल्पना बराईलीको भनाई छ ।