कुवेतबाट दिनहुँ चार्टर्ड जहाजमार्फत नेपाली आउँदै, आज पनि १५० जना फर्किए

 असार ५, २०७७ शुक्रबार ११:५१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतबाट आज पनि १५० जना नेपाली स्वदेश फर्किएका छन् । कुवेतमा आममाफीमा सहभागी १५० जना नेपालीलाई लिएर केहीबेरअघि जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । कुवेतले जजिरा एअरमार्फत दिनहुँ त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल पठाइरहेको छ ।

प्रवक्ता क्षेत्रीका अनुसार कुवेतबाट जजिरा एअरलाइन्सले १५० जना यात्रु र दुईवटा शव ल्याएको छ । कुवेतबाट यसअघि पाँच उडानमार्फत ७४८ जना स्वदेश फर्किसकेका छन् ।

त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ । आममाफीमा सहभागी झण्डै तीन हजार नेपाली छन् । उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फर्काइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेकाले दूतावासले जनाएको छ ।

यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।

घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिनेछ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउनेछ । यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशंका भएमा काठमाण्डौकै आपलकालीन क्वरेण्टीनमा राखिनेछ । सरकारले विदेशबाट घर फर्किएका नेपालीलाई आपलकालीन अवस्थामा राख्नको लागि काठमाण्डौमा पनि झण्डै १५ सय क्षमताको क्वरेण्टीन बेडहरुको व्यवस्था गरेको छ ।

सामान्य अवस्थामा भने सेनाको समन्वयमा विदेशबाट फर्कनेलाई सम्बन्धित जिल्ला नै पठाइन्छ र सम्बन्धित पालिकाले व्यवस्था गरेको क्वरेण्टीनमा बस्नु पर्छ ।

तपाईको प्रतिक्रिया