पालिका उपचुनाव : ६२ प्रतिशतभन्दा धेरै मत खस्याे
मंसिर १६, २०८१ आइतबार
साँझको सात बज्नै लागेको थियो । फोनको घण्टी बज्यो । उठाएँ ।
उताबाट आवाज आयो “तपाईं भरत ढकाल हो ?”
मैले हो भनें ।
उताबाट आवाज आयो “तपाईँले जाँच गराउनुभएको रहेछ ! रिपोर्ट राम्रो छ ।”
मन खुशीले फुरुङ्ग भयो । 'दिस इज गुड न्यूज' मात्र भनेको थिएँ, उताबाट आवाज आयो, 'मिस्टर भरत यू ह्याभ गट अ कोभिड १९ पोजेटिभ ।’
म झस्किएँ । मनले पत्याउन सकेन । मलाई लाग्यो, मेरो रिपोर्ट त्यस्तो हुनै सक्दैन ।
तर अस्पतालबाट फोन गर्ने सिस्टरले मलाई सम्झाउँदै फेरि पनि भन्नुभयो, ‘यु ह्याभ पोजेटिभ ।’ मेरो हातखुट्टा कापेँ । केही सोच्न सकिनँ । जीउमा करेन्ट लागेझैं भयो ।
फोनमै उहाँले मलाई नडराउन, नआत्तिन सल्लाह दिंदै मास्क लगाएर छुट्टै बस्न र अस्पताल आउन सुझाउनुभयो ।
मलाई सामान्य रुघाखोकी मात्रै लागेको थियो । काममा गैरहेकै थिएँ । कोरोनाले संसारको सातो लिइरहेका बेला आफैलाई कोरोना भयो भन्दा एकछिन आकाश खसेझैं लाग्यो । तर मन सम्हाले । किनकी मेरो शरीरमा के भएको छ र मलाई कस्तो अनुभव भएको छ भन्ने त डाक्टरलाईभन्दा बढी मलाई नै थाहा थियो !
कोरोना पोजिटिभ देखिनुअघि रुघाखोकी लागेको थियो । तर म काममै थिएँ । नाक बन्द भएको जस्तो, अलिअलि ज्वरो आएझैं भएको थियो । असहज लागेपछि सुपरभाइजरलाई खबर गरेँ । एसएसएमसी अस्पतालमा म सुरक्षागार्डको काम गर्छु ।
ड्युटी गरिरहेकै अस्पतालमा जाँच गर्न गएँ । मेरो मुख र नाकबाट परीक्षणका लागि स्वाब लिइयो । त्यो दिन काम गरेँ । तर अलि असहज लागेकाले दुई दिनको बिरामी बिदा लिएँ । अस्पतालमा मलाई खाने औषधि दिइएको थियो ।
औषधि खाँदै निको हुने आशामा कोठामै बसिरहेको थिएँ । त्यहीबेला मलाई कोरोना सङ्क्रमण भएको खबर आयो । यसअघि कोरोना भयो भने के गर्ने होला भनि कल्पना गर्दै डर लाग्थ्यो । तर नहुने सङ्क्रमण भएपछि डराएर भएन । मनदेखि नै शक्ति बटुलें ।
नर्सले फोनमा भनेजस्तै कोठामा छुट्टै बसें । मास्क लगाएँ । आफूलाई कोरोना सङ्क्रमण भयो भनेर सुपरभाइजरलाई जानकारी गराएँ ।
सुपरभाइजरले अस्पताल जान एम्बुलेन्स लिन आउँछ भने । एम्बुलेन्स कुरेर बसें । तर त्यो दिन एम्बुलेन्स आएन । अस्पताल जान पाइनँ, तर छुट्टै कोठामा बसेँ । म बस्ने क्याम्पमै अरु साथीलाई पनि पोजेटिभ भएको रहेछ । हामीलाई छुट्टै क्वारेण्टीनमा राखियो ।
पोजेटिभ देखिएको पाँचौं दिनमा अस्पताल गएँ । अस्पताल नजाँदासम्म मनमा डर थियो । केही भइ पो हाल्ने हो कि भनेर मन आत्तिएको थियो । अस्पताल पुगेपछि आत्मबल बलियो भएर आयो ।
मैले सोचें, डराउँदिनँ, यो रोगलाई जित्छु । आत्मबल बढेपछि डर हराउँदै गयो । मेरो रुम २७९ थियो । अस्पतालमा अरु पनि थिए । अस्पतालमा युगाण्डाको एकजना साथी भेटेँ । उ निको हुने चरणमा थियो । उसलाई देखेपछि पनि मेरो आत्मबल दोब्बर भयो ।
डाक्टरहरु आए । सुगर, ब्लड प्रेसर के छ भनेर परीक्षण गरे । मेरो सबै टेस्ट भयो । दिनमा एक, दुईपटक डाक्टरले जाँच गरे । खान, बस्न लगायत सबै कुराको व्यवस्थापन राम्रो थियो । फलफूल, जुस लगायत त्यहाँ चाहिने खानेकुरा सबै दिएको थियो अस्पतालले ।
सफा सुग्घर बस्ने, प्रत्येक दिन नुहाउने, शारीरिक व्यायाम गर्ने, बाफ लिने, निरन्तर योग गर्ने गरेँ । त्यही भएर मलाई म यो रोगसँग जित्छु भन्ने आत्मविश्वास थियो । मैल क्रमशः दिनको तीनचोटी बाफ लिने गर्थें । बिहान, दिउँसो, बेलुका । यस्तै म योग पनि गर्थें । त्यही भएर मलाई बिस्तारै सुधार हुँदै आयो । त्यसपछि तेस्रो चौथो दिनदेखि मलाई एकदमै सुधार भएको अनुभूति हुन थाल्यो ।
यो रोग भनेको त हामीले एकदमै निडर भएर फेस गर्नुपर्ने रहेछ । पहिला सुरुमा मलाई नहुँदा त के के न होला भन्ने सोच्थेँ ।
तर जब मलाई लाग्यो मेरो शरीरले यसलाई पचाउन सक्छ, यो खासै ठूलो रोग होइन, यसलाई हामीले राम्रोसँग केयर गर्यो भने निडर भएर आत्मबलले काम गर्यो भने यसलाई जित्न सकिन्छ भन्ने मलाई एकदम आत्मविश्वास बढेर आयो ।
किनभने तेस्रो, चौथो, पाँचौ दिनमा त त्यस्तो नराम्रो असरहरु केही पनि देखिएन । मलाई हल्का ज्यान दुख्ने, कम्मर दुख्ने त्यति मात्रै समस्या भयो ।
अनि रुघा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भयो । र दिनमा दुई चार पटकसम्म शौचालय जानुपर्ने भयो । त्यसपछि मैले छैटौं, सातौं दिनमा लगातार तातोपानी, कागती पानी लगायत सुन्तला, जुस र भिटामिन सी लिने गरेँ । त्यसपछि मलाई धेरै राहत भयो र मलाई बिस्तारै धेरै सजिलो अनुभव हुँदै गयो, छैंटौं सातौं दिनदेखि ।
मलाई म बाँच्छु भन्ने आत्मविश्वास त थियो । तर अलिअलि डर त सबैलाई भइहाल्छ । खासै ठूलो रोग होइन योे, जवान मान्छेलाई यसले खासै असर गर्दैन, मैले यो रोगलाई जित्छु भन्ने थियो । तर कोठामा साथीहरु भने डराएका थिए ।
सुरुमा दुईतीन दिनसम्म त मेरो नियमित कुरा हुन्थ्यो । तर दुई, तीन दिनपछि मैले सम्पर्क गरिनँ । उहाँहरु डराउनुहुन्छ भनेर । मेरो मोबाइल अफ छ, अहिले बाहिर छु, मेरो मोबाइलमा टावर टिप्दैन भनेर तीन दिनसम्म मैले परिवारसँग कुनै सम्पर्क पनि गरिनँ ।
तर चार, पाँच दिनसम्म अस्पताल नगएर कोठामै बस्दाखेरी मलाई कोरोनाका कारण केही भइहाल्यो भने परिवारको मान्छेलाई जानकारी गर्नुपर्यो भनेर सोचें । त्यसपछि मेरो जेठान अमेरिकामा ल्याब टेस्ट गर्नुहुन्थ्यो उहाँलाई भनें ।
उहाँ एकछिन त झस्किनुभयो किनकी उहाँकै अगाडि कोरोनाका बिरामीहरु मरेका थिए । उहाँले नआत्तिनुहोस्, रमाइलो भिडियो हेर्नुस् भनेर सान्त्वना दिनुभयो । त्यसपछि उहाँलाई भनेपछि मैले घरमा पनि सम्पर्क गरेँ ।
घरमा मलाई भाइरस पोजेटिभ भयो, नआत्तिनु भनेर सम्झाएँ । मलाई केही पनि भएको छैन, साधारण जिउ मात्र दुखेको छ भनें । श्रीमती र छोरासँग कुरा गरेँ । उनीहरु त निकै नै आत्तिएका थिए । मेरो छोरा इञ्जिनियर हो, नेपाल एयरलाइन्सको लागि भनेर लोकसेवा तयारी गरिरहेको छ ।
मेरो कारणले उसको पढाइ पनि बिग्रन थाल्यो । बुवालाई केही पो भइहाल्छ कि भनेर डराएको थियो । मेरै बारेमा चिन्ता लिइरहने । मेरो एउटै छोरा हो, मलाई परिवारबाट अलि डर त्रास थियो । त्यही भएर मैले फोन गरिरहन्थें । मलाई गाह्रो अप्ठ्यारो भएको फिल पनि हुन दिइनँ । यही भएका मेरो आफन्तले पनि मलाई आत्मबल दिए । साथीभाइले पनि हौसला दिए ।
मेरो लगभग ६ पटक जति परीक्षण भयो । जब मेरो लगातार दुईचोटी नेगेटिभ आयो, १७ र १९ तारिखमा त्यति बेलासम्ममा म लगभग निको भइसकेको थिएँ । म नौ दिनसम्म त्यही अस्पतालमा बस्ने मौका पाएँ र २७ गते डिस्चार्ज भएँ ।
मैले यो रोगलाई आफ्नै आत्मबलले जितेको हो । यो रोग लाग्यो भने पनि एकदमै सजिलो तरिकाले लिने हो । सबैभन्दा ठूलो कुरा भनेको डराउनु हुँदैन । यो रोग लाग्यो भनेपछि ए रुघा लागेछ यसलाई त म निको पार्छु भनेर नियमित तातोपानी पिउने गर्नुपर्ने रहेछ ।
त्यसमा बेसार हालेर, ज्वानो छ भने त्यो पनि हालेर पिउनुपर्छ । यस्तै त्यसमा कागती पनि मिसाएर पिउनुपर्छ । यस्तै कतिलाई घाँटीमा समस्या भएको हुन्छ, नुनपानीले कुल्ला गर्दा ठिक हुन्छ । यस्तै तातोपानीको बाफ लिनुपर्छ ।
तातोपानीलाई नाकबाट पुरै पसिना जाने हिसाबले बाफ लिनुपर्छ । दिनको तीनपटक लियो भने पनि ज्वरो निको हुन्छ । शरीर एकदमै हलुका भएको जस्तो महसुस हुन्छ ।
मलाई कोरोना निको हुनुमा मेरो आत्मबल र सबैको हौसला पनि हो । म यूएई सरकारलाई धन्यवाद दिन चाहन्छु । नेपालीहरुले पनि अरु नागरिक सरह उपचार पाएका छन् ।
मैले कम्पनीलाई पहिले नै फोन गरेर भनेको थिएँ । कम्पनीबाट जीएमले लगातार फोन गरिरहन्थे । मेरो नेगेटिभ रिपोर्ट आयो । मैले जीएम र सुपरभाइजरलाई त्यो पनि जानकारी गराएँ । तर अस्पतालले अझै १२ दिन होटलमा क्वरेण्टीनमा बस्ने, त्यसपछि मात्रै जाने भनेको थियो ।
तर होटेलमा पनि ठाउँ खाली थिएन । थप ९ दिन त्यहीँ अस्पतालमै क्वरेण्टीनमा बसेँ । क्वरेण्टिनमा नौ दिन अस्पताल बसेपछि तँ एकदमै फिट छस् भनेर अस्पतालले डिस्चार्ज गर्यो । मैले कम्पनीलाई कहाँ जाने भनेर सोधेँ ।
कम्पनीले तेरो क्याम्पमा जा, त्यहाँ तेरो अलग्गै कोठा छ, गेटमा सुरक्षागार्डलाई भनिसक्यौँ भन्यो । त्यसपछि अस्पतालले ट्याक्सीको व्यवस्था गरिदियो र डिस्चार्ज पेपर दियो । म ट्याक्सीमा चढेर क्याम्प पुगेँ ।
अहिले हामी दुईजना एउटा कोठामा छौं । काम सजिलो छ । दुई दिन भयो ड्युटी गर्न थालेको । म एकदमै फिट छु ।
प्रेम खतिवडा
Aug. 19, 2020, 12:10 a.m.खुशी लाग्यो मित्रले आफ्नो आत्मबलले रोगको सिकार हुनु परेन। आशा गरौ वैदेशिक रोजगारमा रहनुहुने मित्रहरूले यस्तो पिडा भोग्नु नपरोस्।कोरोना कहर अझ बढदो छ। सबैलाइ सुरक्षित रहन आग्रह गर्दछु।😍😍😍😍😍 Stay safe and stay happy.😍😍😍😍