नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
वैदेशिक रोजगारीले कतिको घर चलेको छ । परिवारको अवस्था फेरिएको छ । तर केहीको घरबार उजाडिएको पनि छ । भएका कुरा पनि वैदेशिक रोजगारीका कारण गुमेको छ । मेरो पनि त्यस्तै भयो । वैदेशिक रोजगारीमा गएर कमाउँला भन्ने सोचेको थिएँ । तर गुमाएँ ।
१० वर्ष अगाडि म पहिलो पटक कतार गएको थिएँ । मलाई वर्कसपको काम भनेर पठाएको थियो । तर त्यहाँ वर्कसपको काम होइन लेबरको काम दियो । बालुवा, गिटी बोक्नुपर्नेदेखि अरु पनि काम गर्नुपर्ने थियो ।
यहाँ १५ सय रियाल भनेर मसँग एक लाख ५ हजार रुपैयाँ लिएको थियो । तर त्यहाँ मलाई ५ सय रियाल मात्रै दियो । त्यसमाथि खाना आफ्नै पैसाले खानुपर्ने अनि सुत्ने ठाउँ पनि राम्रो थिएन । त्यसैले बस्नै नसक्ने भएपछि म ६ महिनामै फर्किएँ ।
लेबरमा जाँदा ठगिने रहेछ भन्ने बुझें । दुई वर्ष घरमै बसें । मसँग ड्राइभिङ लासेन्स थियो । त्यसैले एजेण्टले ड्राइभरमा जाँदा पहिला जस्तो हुँदैन भनेर विश्वास दिलायो । मलाई पनि होला भन्ने लाग्यो ।
एजेण्ले पहिलेको भन्दा धेरै कमाइ हुने भन्दै एक लाख २० हजार लिएको थियो । तर त्यो पल्ट पनि म ठगिएँ । मसँग नेपालको लाइसेन्स थियो । कतारमा पुगेर त्यहाँको लाइसेन्स लिनुपर्ने थियो । तर कम्पनीले लाइसेन्स बनाइदिएन । लाइसेन्स नभएसम्म गाडी कुदाउन पाउने पाउने कुरै थिएन । त्यसैले काम पाइएन ।
ड्राइभरको काम नदिएको म्यानेजरले मलाई लेबरको काम लगायो । मैले भनेको काम दिलाउन नसक्ने भए घर फर्काइदिन भनें । कतारमा मलाई पठाउने एजेण्टको भाइ थियो ।
मैले कतारमा रहेको नेपाली दूतावासमा निवेदन पनि दिएँ । दूतावासले एजेण्टको भाइलाई बोलाएर घर फर्काउने र पैसा फिर्ता दिने सहमति गरायो । सहमतिको त्यही कागज लिएर म १० महिनामा घर फर्किएँ । तर यहाँ आएपछि मैले पैसा फिर्ता पाइनँ । त्यसैले दुइ पटक जाँदाको ऋण दुई कठ्ठा जग्गा बेचेर तिरें ।
अहिले घरमा किराना पसल चलाइरहेको छु । खेतीपाती पनि गरिरहेको छु ।