सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रका रूपमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
वैशाख ११ – धादिङका राजकुमार सुनुवारलाई २०७३ सालमा साउदी उड्दा आफूले विदेशमा कमाएपछि घरव्यवहार सबै मिल्छ भन्ने लागेको थियो ।
छोराछोरी पढाउने, ऋण तिर्ने अनि आनन्दले जीवन चलाउने यस्तै आशा बोकेर उहाँ साउदी पुग्नुभयो । गाउँघरमै छँदा राम्रोसँग नचलेको जीवनलाई सहज बनाउन विदेश लाग्दा आफ्नै जीवन नचल्ने हुन्छ कि भन्ने उहाँले सपनामा पनि सोच्नुभएको थिएन ।
जे सोचेको त्यो भएन साउदीमा । जे नसोचेको त्यही भयो । उहाँको कमाइले घरव्यवहार चलेन । राजकुमारको शरीरको अंग चाहिँ काम नगर्ने भए ।
‘मिर्गौला त दुईवटै काम नलाग्ने भएछ त्यो पनि नेपाल आएपछि मात्रै थाहा पाएँ,’ राजकुमारले सुनाउनुभयो ।
अफिस भित्रैकै काम भनेको थियो म्यानपावरले राजकुमारलाई । अफिसकै काम हुनेभएपछि म्यानपावरलाई पनि भनेअनुसार कै पैसा बुझाउनुभयो । ‘महिनाको ५० हजार रुपैयाँ तलब हुन्छ भने, मैले पनि ८८ हजार रुपैयाँ बुझाएँ, कसरी थाहा पाउनु र, त्यसरी ठग्छन् भन्ने त,’ राजकुमार गुनासो गर्नुहुन्छ ।
दलालका चिल्ला कुरा हुन भनेर त साउदीमा गएर तातो घाममा काम गर्नुपर्दा मात्रै उहाँले पत्तो पाउनुभयो । न भनेको काम पाउनुभयो न तलब । महिनाको १० हजार रुपैयाँ पनि बचाउन हम्मे हम्मे पर्यो उहाँलाई ।
‘१० घण्टा धुलो बढारर्ने काम गर्दा लगाएको लुगा पनि पसिनाले भिजेर धोएको जस्तो हुन्थ्यो, बेलुका फुकाल्दा पसिना जुत्तामा जमेको हुन्थ्यो,’ राजकुमार सनाउनुहुन्छ ।
दिनभरी उहाँले धुलो बढार्ने काम गर्दा धुलो खानुभयो तर पानी खान पाउनुभएन । ‘कस्तो तिर्खा लागेको हुन्थ्यो, पानी खान भित्र जाँदा त्यहाँका मुदिर फोहोरी उता जाउ भनेर कराउने कति दिन त पानी खानै पाइदैन थियो,’ राजकुमारले भन्नुभयो । पानी नखाएर काम गरेकै कारण मिर्गौला फेल भयो होला भन्ने लाग्छ राजकुमारलाई ।
‘एकदिन काम गर्दा गर्दै बिरामी भएँ, बान्ता भएर लडेछु, साथीहरुले अस्पताल लगे तर कम्पनीले वास्ता गरेन,’ राजकुमारले भन्नुभयो ।
अस्पतालमा उहाँले आफैंले उपचार गरेको बिल तिर्नुभयो । भाषा नबुझ्दा राजकुमारले आफूलाई के भएको थियो भन्ने पनि थाहा पाउनुभएन । अस्पतालबाट फर्किएपछि पनि राजकुमारले काम गर्न सक्ुनभएन । त्यसपछि नेपाल फर्किने तयारी गर्नुभयो । एक महिना १० दिन काम गरेको पैसाले टिकट काट्नुभयो ।
‘कम्पनीसँग बिरामी भएर नेपाल फर्किदै छु बाटोमा पानी किन्ने पैसा त सहयोग गर भनेको सुनेन, पानी त प्लेनमै दिन्छ भनेर थर्काएँ,’ राजकुमार सम्झनुहुन्छ ।
राजकुमारलाई आफूलाई के भएको छ भन्ने त थाहा थिएन तर गलेके शरीर लिएर फर्किनुपर्दा नमज्जा लागेको थियो । सोचेको कुरा पूरा नहुँनुको पीडा एकातिर थियो भने अर्कातिर बिरामी भएर फर्किनुको पीडा ।
‘नेपाल आएपछि सुरुमै अस्पताल गएँ, चेक गराएपछि डाक्टरले रिपोर्ट सुनाउदा भने छाँगाबाट खसै झैं भएँ, मेरो त दुवै मिर्गौला पो फेल भइसकेको रहेछ,’ राजकुमार बल्ल मात्रै आफू बिरामी भएको कारण थाहा पाउनुभएको थियो ।
‘डाक्टरले दुवै मिर्गौला फेल छ भन्दा त कति रोएँ कति, सबै सकिएझै लाग्यो, जमिन भासिए झै भएको थियो ।’
राजकुमारले दिन बिराएर डाइलोसिस् गर्नुपर्छ ।
‘पैसा कति सकियो भन्ने लेखाजोखा छैन्, चन्दा मागेर उपचार गराइरहेको छु, रगत परिवर्तन गर्दा लगाउनु पर्ने सुई पनि पैसा नभएर लागउन पाएको छुन,’ राजकुमारले भन्नुभयो, ‘अब त धेरै बाच्दिन होला, मेरा परिवारले चाहिँ दुःख पाउने भएँ ।’