लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
काठमाडौ – शरीर अरुकै जस्तो सामान्य छ । तर टाउको असामान्य । टाउकोको बायाँपट्टिको भागमा खाल्डो छ । त्यो खाल्डो परेको भागको हड्डी चाहिँ उहाँले बट्टामा बोक्नु भएको छ ।
आफ्नो टाउकोको हड्डी बट्टामा बोक्ने उहाँ दाङको भोजपुरका गजराज सुवेदी । दाङ देउखोरीको गढवाचोकदेखि झण्डै ७ किलोमिटरको दूरीमा रहेको भोजपुर गाउँमा छ गजराजको घर । सम्पतिको नाममा टिनले छाएको घर र ५/६ कट्ठाबाट आउने अन्नपात नै गजराजको परिवारको हातमुख जोर्ने माध्यम हो ।
परिवारका लागि कमाउन विदेश जानुपर्ने उहाँको बाध्यता हो । अहिलेको मात्रै होइन्, गजराज र उहाँका भाइ स्कूल पढ्दै गर्दा बुवा पनि कमाउन भारत जानुभएको थियो ।
२०६२ सालमा कमाउन भारत गएका बुवा फर्किनु भएन । उतै बेपत्ता हुनुभयो । यसले परिवार चल्न मात्रै होइन गजराज र उहाँका भाइ रमेशको पढाई १० कक्षाभन्दा माथि जान सकेन । ५/६ कठ्ठा खेतबाट आएको अन्नपातले आमा र भाइ सहित ३ जनाको परिवारमा जेनतेन गुजारा चलेको थियो । तर दाजु भाइले नै बिहे गरेपछि परिवारको सदस्यको सङख्या थपियो । गजराजका दुई सन्तान पनि भएपछि परिवारको संख्या ७ पुग्यो ।
दुई सन्तानको शिक्षाको जिम्मेवारीसमेत थपिएपछि परिवार चलाउन धौ धौ भयो । खेतबारीमै निर्भर रहनसक्ने अवस्था रहेन । छरछिमेकबाट ऋण लिएर १ लाख ३५ हजार रुपैयाँ म्यानपावरलाई बुझाएर गजराज पोहोर पुष १० गते दुवई उड्नुभयो ।
गजराजको काम श्रम सम्झौतामा भनिए अनुसार नै थियो । 'वायर हाउसमा फ्रिज' र 'एसी लोड अनलोड' गर्ने । ऋण तिरेर घरबाट जाँदाका सपना पूरा गर्न गजराज मेहनत गर्दै हुनुहुन्थ्यो । तर १ वर्ष नपुग्दै गएको असोज ३० गते आफू बस्ने कोठामै ओछ्यानबाट लड्नुभयो । त्यही दुर्घटनाले टाउकोबाट बायाँपट्टिको हड्डी फुट्यो । अस्पतालले उपचारका क्रममा उहाँको टाउकोको हड्डी निकालिदियो ।
कम्पनीले तत्कालको उपचार मात्र गरिदिएपछि उहाँ टाउकोको हड्डी डिब्बामा बोकेर नेपाल फर्किनु भएको छ ।
सधैंजसो कम्पनीबाट फर्किएर दाह्री काट्ने मेसिन लिन ओछ्यानमा चढ्न खोज्दा गजराजको खुट्टा फलामको भर्याङबाट चिप्लियो । नजिकै रकेको काठको बाकसमा टाउको बजारिँदा बेहोस भएका गजराजलाई कामबाट फर्किएपछि भेटेका साथीहरुले अस्पतालमा पुर्याए । २० दिन अस्पतालमै भर्ना भएका गजराजको ३ दिनसम्म आसीयूमा उपचार भयो । उपचार गर्दा झण्डै २८ लाख रुपैयाँ खर्च भयो । त्यहाँ उपचार गर्दाको सबै खर्च कम्पनीले नै बेहोर्यो ।
टाउको बज्जारिंदा फुटेको टाउकोको बाँयातर्फको हड्डी अस्पतालले निकालिदिएको छ । हड्डी नै नहुँदा टाउको निहुर्याउन, हिँडडुल गर्न अनि काम गर्न गाह्रो हुन्छ । अस्पतालले पनि काम नगर्न भनेको छ ।
गजराज बाँकी उपचार नेपालमै गर्ने सोचेर टाउकाको हड्डी बोकेर मंसिर ४ गते नेपाल फर्किनु भएको छ । शिक्षण अस्पतालले हड्डी फुटेकाले बोन प्लाष्टर गर्नुपर्ने भन्दै माघ ४ जाँचगर्ने र ९ गते अप्रेसनको मिति दिएको छ । तर उहाँसँग अप्रेसनका लागि चाहिने १ लाख रुपैयाँ छैन ।
विदेश जाँदा लिएको ऋण तिरेर कमाउन थाल्दा नै दुर्घटनामा परेपछि उहाँ अहिले समस्यामा हुनुहुन्छ । गजराजकी आमा गिरादेवीले दुई हात जोड्दै भन्नुभयो ‘उपचार भएपछि केही गरेर खाने भैदियो राम्रो हुन्थ्यो । उपचारका लागि सबैले सहयोग गर्नुहुन्छ कि भन्ने आशा छ ।’
टाउकोको हड्डी फुटेर निस्किँदा पनि मान्छे कसरी बाँच्न सक्छ भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । तर वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तका अनुसार टाउकोको हड्डीको काम मस्तिष्कलाई जोगाउने हो । हड्डी निस्किँदैमा ज्यानै जाने र फेरि त्यही हड्डी टाउकोमा राख्न नमिल्ने होइन । तर त्यसका लागि टाउकोको हड्डीलाई विशेष रुपमा पेटभित्रै राख्नुपर्छ ।
गजराजको टाउकोको हड्डी भने डिब्बामा राखिएकाले त्यसले काम नगर्ने र कृत्रिम हड्डी राख्नु पर्ने उहाँले बताउनुभयो । टाउकोको हड्डी नहुँदैमा सामान्य रुपमा हिँड्डुल गर्न समस्या नभएपनि सहजताका लागि अप्रेशन गरेर कृत्रिम हड्डी राख्नुपर्ने डाक्टर पन्तको भनाई छ ।