लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
काठमाडौं – कविन्द्र महर्जन, काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको उपाध्यक्ष हुनुहुन्छ । सञ्चार माध्यममा दिनहुँ जसो काम पाइएन भन्दै विदेश गएका युवाका कुरा, उनीहरुले पाएका पीडा सुन्दा उहाँलाई यस्तै श्रम गर्न किन विदेश जानु पर्यो भन्ने लागिरहन्छ ।
अहिले पुनर्निर्माणको चरणमा रहेको नेपालमा कामका अवसर जताततै देख्नुहुन्छ महर्जन । उहाँले देखेका कामका अवसर र त्यसबाट हुने कमाईका कुरा उहाँकै शब्दमा ।
अहिले मेरो कम्पनीको काठमाडौंमा तीन चार वटा प्रोजेक्ट चल्दैछ । नगरपालिकाको भवन, कीर्तिपुरको दक्षिणकाली सडक, वारुणयन्त्रको कार्यालय, मन्त्री निवासका भवन पनि बनाउँदै छौं ।
अहिले देश पुनर्निर्माणको चरणमा छ । भूकम्पपछिको पुनर्निर्माण चलिरहेको छ । त्यसैले कामदारको माग धेरै छ । यस्तो बेलामा हामीले कामदारलाई उनीहरुको माग अनुसार पैसा दिन सकिएन भने श्रमिक पाउन मुश्किल छ ।
मैले पहिल्यैदेखि नै समय अनुसार श्रमिकको ज्यालादर बढाउन सकिएन भने कामदार पाउन गाह्रो हुन्छ भन्ने गरेको छु । अहिलेको अवस्थामा यस्तै भइरहेको छ । श्रमिकहरु देशमा राम्रो ज्याला पाइएन भनेर विदेश गइरहेका छन् । हाम्रा युवा काम खोज्दै विदेश गइरहेका छन् । हामीले चाहिँ काम गर्ने मान्छे भारत र बंगलादेशबाट ल्याउनु परिरहेको छ ।
हाम्रा युवा जति पैसाका लागि विदेश गइरहेका छन् त्यो भन्दा बढी पैसा त यहीँ देशमै कमाउन सकिन्छ । तर हामीले यस्तो अवसर छ भनेर बुझाउन सकिरहेका छैनौं ।
हामीले ५० जना वा त्यो भन्दा धेरै मान्छे चाहियो भने बंगलादेश वा भारतका मान्छेलाई सम्पर्क गरेर उसैमार्फत मान्छे मगाउनु परिरहेको छ । हामीले भारत र बंगलादेशबाट ल्याउने कामदार भनेको लेबरदेखि मिस्त्रीसम्मका छन् ।
हामीले भारत र बंगलादेशबाट मगाउने कामदारलाई खाने, बस्ने व्यवस्था गरिदिनुपर्छ । यो सुविधा दिएर मिस्त्रीलाई १२ देखि १५ सय रुपैयाँ दिनुपर्छ । भनेको ४० देखि ४५ हजार रुपैयाँ कमाउन विदेश जानु पर्दैन ।
यति पैसा दिँदा पनि सीप भएका कामदार पाउन गाह्रो छ । ६ महिना लेबरको काम गरेर मिस्त्री कामदार सिक्ने हो भने उसको कमाई राम्रो हुन्छ । तर कामदार पाइँदैन । हाम्रो देशको नियमअनुसार असार मसान्तमा कामहरु धेरै सक्नुपर्ने हुन्छ । तर कामदार नपाएकै कारणले हामी सडक निर्माणको कामहरु समयमा गर्न सकेका छैनौं ।
आफूसँग एक पटक सम्पर्कमा आएका वा काम गरेका कामदारलाई उनीहरुले भनेको जस्तो सेवा सुविधा दिन सकिएन भने उनीहरुलाई आफूसँग टिकाउन गाह्रो छ । मैले भन्न खोजेको लेबरहरु मात्रै होइनन् । लेबरसँगै मिस्त्री अनि अपरेटरहरुको पनि अभाव छ ।
निर्माण क्षेत्रमा प्रयोग हुने सवारी साधन चलाउने लाइसेन्स लिएका अपरेटरहरु पाउन एकदम गाह्रो छ । किनकी अपरेटरको लाइसेन्स निकाल्न त्यति सजिलो छैन ।
लाइसेन्स भएका अपरेटरहरुलाई दिनुपर्ने रकम धेरै छ । महिनाको ५० देखि ७० हजारसम्म दिनुपर्छ । त्यो पनि ब्याक लोडर चलाउने अपरेटरलाई । ग्रेडर र रोलर अपरेटरको त्यो पनि राम्रो छ । उनीहरुले महिनाको एक लाखभन्दा धेरै कमाइरहेका छन् ।
त्यतिको कमाई त विदेशमा गएर पनि शायद कमाउँदैनन् होला । त्यसैले अहिले अवसर धेरै नै छ । पहिला पहिला यस्ता साधनहरु धेरै थिएनन् । त्यसैले यहाँ काम सिकेर अपरेटरहरु विदेश जान्थे । तर अहिले त विदेशबाट अपरेटरहरु नेपालमा काम गर्न आइरहेका छन् ।
निर्माण क्षेत्रका लेबरले २५ देखि २७ हजार रुपैयाँसम्म कमाइरहेका छन् । त्योभन्दा माथि मिस्त्रीले ३५ देखि ४० हजार कमाउन सक्छन् । त्यो पनि सीप भएका भन्नाले कामदारहरुको व्यवस्थापन गरेर काम गर्न सक्ने कामदारहरुले ५० हजारसम्म कमाउँछन् । योभन्दा विशेष काम पनि छ ।
अहिले भूकम्पले भत्काएका पुरातात्विक सम्पदाहरुको पनि पुनर्निर्माण भइरहेको छ । यस्ता पुरातात्विक सम्पदाहरु बनाउने सीप भएका व्यक्तिहरु पाउन झनै गाह्रो छ । मठमन्दिर, देवल बनाउने मान्छेहरु पाइँदै पाइँदैन । हाम्रो देशका सम्पदा पुनर्निर्माण गर्ने मान्छे विदेशबाट ल्याउनुपर्छ जस्तो भइसकेको छ ।
यदि कुनै व्यक्तिले औपचारिक शिक्षा लिइसकेपछि यस्तो कला सिक्ने हो भने डेढ दुई लाख रुपैयाँ कमाउन कुनै गाह्रो छैन जस्तो लाग्छ । किनकी यस्तो सीप भएका मान्छे त एकदमै कम छन् । जस्तो उदाहरणका लागि झिंगटी राख्ने भनिन्छ ।
यस्तो सीप भएका कामदारहरुको काम कार्यालयको काम जस्तो छ । उनीहरु १० देखि ५ बजेसम्म काम गर्ने अनि दिनको चार हजार रुपैयाँ कमाइरहेका छन् । यो काम सीमित मान्छेहरु बाहेक अरुले जान्दैनन् । यस्तो हुनुको पछाडि यो सीप एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएन । नयाँ पुस्ताले सिक्दै सिकेन ।
यो क्षेत्र भनेको नपढ्नेहरुको हो भन्ने बुझाइ ठीक होइन । पढाइको महत्व जुनसुकै क्षेत्रमा हुन्छ । १० वा १२ कक्षा पढेपछि कहाँ जाने ? के काम गर्ने भन्ने ठूलो अन्योल हुन्छ । तर प्रायले यो क्षेत्रमा पाइने कामका सीप सिक्नतिर ध्यान दिएको पाइँदैन ।
यदी सीप सिकेर यो क्षेत्रमा लाग्नेहरु भने उसले राम्रो स्तरको जिन्दगी बाँच्न सक्छ भन्ने कुरामा कुनै दुविधा छैन । धेरै खट्नुपर्छ भन्ने कुरा आउला । खटाइ त विदेश पनि त उस्तै हो । झन् त्यहाँको वातावरण त यहाँको जस्तो कहाँ छ र ? गर्मी उस्तै अनि नियम पनि त्यस्तै कडा ।
आफ्नो देशमा त हावापानी पनि यति राम्रो छ अनि केही समस्या परिहाल्यो भने पनि विदेशको जस्तो समस्या भोग्नुपर्दैन । त्यसैले विदेशभन्दा स्वदेशकै काम र कमाई धेरै राम्रो छ ।
धेरैको सोचाई चाहिँ पढेपछि जागिरै खानुपर्छ भन्ने भयो । जागिर खाँदा १५ देखि २० हजार कमाउनेले यस्ता सीप सिक्यो भने ५० हजार कमाउन समस्या छैन ।
किन जानु पर्यो विदेश ?
अहिले १५/२० हजार कमाउन दिनमै हजारौं युवा विदेश गइरहेको देख्ता किन विदेश जानुपर्यो भन्ने लाग्छ । किनकी अहिले देशमै नयाँ नयाँ ठाउँमा शहरहरु बन्दैछन् । यस्ता ठाउँको विकास गर्न ३/४ हजार कामदार एकै ठाउँमा चाहिन्छ ।
अनि यहीँ कामको अवसर पाइहालिन्छ नि । हामीले यस्तो काम गर्न कामदार नपाएर अघि भनेको जस्तै विदेशबाट कामदार ल्याउनु परिरहेको छ । अनि हाम्रा युवा चाहिँ काम खोज्दै किन विदेश जाने ?
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।
kamal gautam
Dec. 3, 2018, 1:24 p.m.मा विदेशको बसाइ छोडेर आफ्नै मुलुक आउँदै छु /के म हजुरकोमा काम गर्न सक्छु - म डकुमेन्ट कन्ट्रोल र डाटा इन्ट्री गर्न सक्छु /